स्वस्थ प्रतिरोधात्मक शक्तिले कोभिड १९, रुँघा, मर्की र अन्य रोगबाट टाढा राख्दछ।
अभिभावकहरु प्राय: अलमलमै हुन्छन्, आफ्नो सन्तानलाई स्वस्थ कसरी बनाइराख्ने भनेर। के साँच्चै रोगहरूसँग लड्नका लागि रोग प्रतिरोधात्मक शक्ति बढाउन सकिन्छ त?
उत्तर हो सकिन्छ, तर संसारमा त्यस्तो कुनै जादुको छडी वा जादुले बनेको दबाइ छैन जसले त्यस्तो काम गर्न सकोस्। सबैभन्दा उत्तम उपाय वा दबाई भनेको ससाना कुराहरूमा ध्यान दिनु नै हो।
म तपाईँहरूलाई आफ्नो बच्चा कसरी स्वस्थ राख्ने भनेर उपाय सुझाउन चाहन्छु। मैले मिती २०८१ साल असोज ६ गते इन्टरनेटको माध्यमबाट थाहा पाएका जानकारीहरू तपाईँ माझ साझा गर्दैछु। निम्न लिखित कुराहरू मैले जाँचबुझ गरेर वास्तवमै सही छन् भनेर ठहराएतापनि यी कुराहरु तपाईंले आफ्नो जीवनमा लागु गर्दा केही नकारात्मक असर पुग्यो भने म जिम्मेवार हुने छैन।
(क) उनीहरूलाई स्वस्थ आहार दिनु
स्वस्थ भन्नाले म यस्तो आहार भन्न खोज्दैछु जसमा धेरै फलफुलहरू र सागसब्जी हुन्छन्। कम्तिमा दिनको पाँचपटक दिने गर्नुस्। यी पाँचपटक मध्ये बिहान र बेलुका खाना खाँदा खानाको ५०% फलफुल र साग सब्जी अनि बाँकी प्रतिशत भात र प्रोटिन युक्त दाल तरकारी दिनुहोस्। स्वस्थ आहारमा दुधबाट बनेका परिकारहरू वा क्याल्सियम युक्त खाने कुराहरु पनि पर्दछन्।
हामीले बजारमा पाइने प्रशोधित खानेकुराहरू, बढी चिनी हालिएका खानेकुराहरू, धेरै चिल्लो खानेकुराहरुलाई वास्ता गर्नु हुँदैन वा भनौँ प्रयोगमा ल्याउनु हुँदैन किनभने यस्ता खानेकुराहरुले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ। यति लेख्दै गर्दा म तपाईँको बच्चाले कहिल्यै कुकिज आइसक्रिमहरू खानु हुँदैन भनेको होइन। मैले त खासमा तपाईंको सन्तानलाई स्वस्थ राख्ने हो भने यस्ता खानेकुरा नियमित नदिएकै राम्रो भन्न खोजेको हो।
बजारमा थुप्रै दबाईहरू पाइन्छन् जसले तपाईँलाई रोग प्रतिरोधात्मक शक्ति बढाउन मद्दत गर्छ भनेर दाबी गर्ने गर्छन्। अब यो दाबी कतिको सत्य हो भनेर म पुष्टि त गर्न सक्दिन तर मलाई यति थाहा छ कि यसले हाम्रो स्वस्थ आहारको स्थान लिन सक्दैन।
(ख) पर्याप्त निन्द्रा पाएका छन् भनेर ख्याल राख्नु
हामी सबैलाई ताजा र ऊर्जावान हुन पर्याप्त निद्रा चाहिन्छ, यसमा हाम्रा बच्चाहरू पनि पर्छन्। कति मात्रामा निद्रा आवश्यक हुन्छ भन्ने कुरा चाहिँ उमेरसँगै फरक पर्न जान्छ। जस्तै - नवजात शिशुलाई १२ घण्टादेखि १६ घण्टासम्म चाहिन्छ। भने किशोर किशोरीलाई ८ देखि १० घण्टासम्म चाहिन्छ। केहीलाई त यो भन्दा बढी चाहिन सक्छ। स्वस्थ निद्राका निम्ति तपाईँ आफ्नो बच्चाको डिजिटल स्क्रिन समयलाई कम गर्न सक्नुहुन्छ। झन् किशोर किशोरीहरुले त सुत्ने बेला हुनुभन्दा एक वा दुई घण्टा अगाडि आफ्ना विद्युतीय उपकरणहरु बन्द गरेर राख्नु राम्रो हो। यति मात्र होइन राति सुत्ने कोठामा नराख्दै ठिक! यो कार्य एक दिन मात्र होइन, नियमित गरेमा मात्र फाइदा पुग्नेछ।
(ग) उनीहरूलाई फुर्तिलो बनाउनुहोस्
व्यायाम गर्नाले हामीलाई स्वस्थ र रोगहरूबाट टाढा रहन मद्दत गर्दछ। बच्चाहरू कम्तीमा पनि दिनको एक घण्टा फुर्तिलो रहेर बसेको छ भने ऊ स्वस्थ छ भनेर बुझ्न सकिन्छ। फुर्तिलो हुनु भनेको ठूला ठूला खेलकुद वा व्यायामशाला जानु मात्र होइन। फुर्तिलो भनेको त यसो सामान्य खेलहरू जहाँ शरीरले हलचल गर्न पाउँछ वा हिँड्नु मात्रै पनि हो। तर धेरै फुर्तिलो हुनु भनेको स्वास्थ्यले राम्रो नै हुनु भनेको होइन। यदि तपाईँको बच्चा ठूलो र गम्भीर खेलाडी हो भने उ पक्कै दिनको धेरै घण्टा व्यायाममा बिताउँछ होला, यसो हुँदा तपाईँले ख्याल राख्नुपर्छ कि उसको यो शारीरिक कसरतले कतै उसको निद्रामा हानि पुर्याएर उसलाई बढी थकित त बनाइरहेको छैन नि! अति गर्नाले प्रतिरोधात्मक प्रणालीमा समस्या उत्पन्न गर्दछ।
(घ) तनाव व्यवस्थापन
तनावले हामीलाई कम स्वस्थ र रोगप्रति उन्मुख बनाउँछ। तपाईंले आफ्नो बच्चाले खेल्ने समय र उसलाई मनपर्ने काम र व्यक्तिसँग उसको पहुँच पर्याप्त छ भनेर ख्याल राख्नुपर्छ। परिवारमा बढी समय बिताउन र उसलाई चिन्तित पारिरहेको हुन सक्ने कुराहरूलाई परिवारमा साझा गर्न सिकाउनुपर्छ।
स्वास्थ्य सम्बन्धी जानकारीमूलक 'web series' ' जीवन चक्र ' जुन नेपाल टेलिभिजनमा प्रसारित हुन्छ, उक्त कार्यक्रम हेर्न यो लिङ्कमा जानुहोस्: https://youtube.com/playlist?list=PLMZ-CAnVR0pec7nty5vWWjE63OydDRDH2&si=bTFsCEWI0kyZG-WO
तपाईँले माथि लेखिएका कुनै पनि शब्दहरूको अर्थ थाहा नभएमा, थाहा पाउनलाई प्रज्ञा नेपाली बृहत शब्दकोश मोबाइलमा उक्त शब्द खोज्न यो लिङ्कमा जानुहोस्: https://play.google.com/store/apps/details?id=np.com.naya.sabdakosh
Comments